राति अबेरसम्म न’निदाएकाले बिहान उठ्न गाह्रो नै हुन्छ । एक त चिसो मौसम । बल्लतल्ल तातेको ओछ्यान छोड्न कहाँ सकिन्छ र ? अचम्म ! त्यो दिन म चाँडै उठे । जुन दिन मलाई फोनको रिङ्गले नमज्जाले डिस्टर्ब गरेको थियोे । सधैं रिङ्गको बेवास्ता गर्ने मैले त्यो दिन पनि वास्ता नै गरेको थिएँन । तर, तारन्तार बजिरहेकोले मोबाइल समाते र निद्रा सँगसँगै अल्छिले गर्दा नम्बर नहेरी रिसिभ गरेको मात्र के थिएँ उताबाट बोलेको वाक्यले मलाई नमज्जाले चिम्ट्यो । ओछ्यानमा चिसो पानी खन्याए झैँ भयो । निद्रा त कता हरायो हरायो ? जुरुक्क उठेँ । फटाफट फ्रेस हुन भनेर बाथरुम लागेँ ।
पैलापैला बाथरुममा अौधि समय लगाउने मैले त्यो दिन पाँच मिनेट पनि लगाइन हुँला । बाथरुबाट निस्किहालेँ ।
“के बिर्सनु भयो ? टावेल, साबुन, स्याम्पु, ब्रसहरु त बाथरुम मै छन् नि ।” रुममा कुचो लगाउदै गरेकी बुढीले सोधिन् ।
“छैन, केही पनि । फ्रेस भैसके । अब हिन्ने तरखर गर्छु । तिमी चिया बनाउदै गर । चिया खाएर निस्किनु पर्यो…” म ड्रेसिङ् रुम तिर लागे ।
बुढी मेरो पछिपछि अाईन् र बर्बराउन थालिन् – “अहिले नै काँ जाने भन्या ? अाज सपिङ्ग जाने भन्या हैन ? हिजो राति नै भोलि कुनै बहाना पनि गर्दिनँ र अफिसको काम पनि छैन भन्या हैन ? खुरुक्क किचनमा हिड्नु त ।” च्याप्प पाखुरा समातेर किचन तिर धकेलिन् ।
“मलाई अहिले नै जानू पर्छ के । बोलाइसकेको छ । तिमी किचकिच नगर न ।” नम्र भाषामा प्रकट भएँ । अँह ! उनले सुनिनन् ।
“काँ जानू पर्छ ? कस्ले बोलायो ? बिहानबिहानै कहिले पनि फोन नउठाउनेले, अाज चै फोन किन उठाएको होला ?” भन्दै मेरो मोबाइल खोसेर कललग हेर्न थालिन् ।
“यो अननोन नम्बर भनेर चै कुन महारानीको नम्बर सेभ गर्या ?” भन्दै नम्बर हेर्न खोजिन् तर त्यहाँ अप्सन एउटामात्र भेटेछ जुन डिलिट भनेर थियोे । र मोबाइल म तिर ल्याउदै सोधिन् – “यो कस्तो नम्बर हो ? हेरिस्यो त ।”
“हाहाहा

मेरि गर्ल फ्रेन्डको नम्बर हो ।” हाँस्दै जवाफ दिएँ ।
“ह्याँ ! नजिस्क्योस् न । भनिस्यो न यो नम्बर कहाँबाट यसरि अायो ? कहाँ को हो ? कस्ले फोन गर्या हो ?”
“यस्ता नम्बर कहिलेकाहीँ बिदेशबाट नि अाउँछन् । तर, यो नम्बर भिअाइपि भिभिअाइपि हरुले मात्र प्रयोग गर्न पाउँछ ।”
“अहिले फोन कताबाट अाएको हो त ? बिदेशी गर्लफ्रेन्ड या भिअाईपि गर्लफ्रेन्डले ?” मस्किदै सोधिन् । मानौ कि मलाई जतिसुकै गर्लफ्रेन्ड बनाए नि माफ छ भनेझैं गरि ।
“भिअाइपि गर्लफ्रेन्डले हो ।” मैले नि मुस्कुराउँदै जवाफ दिएँ ।
“किन ? एक्कासि बिहानै किन सम्झिछे त्यो मोरिले ? म नि भगवान् जस्तो मेरो बुढालाई संका गर्दै बस्छु । मलाई माफ गरिस्यो ल…” भन्दै चिसोले राता भएका, थोरै फाटेका अधर चुम्दै भनिन् ।
“खै ? बधाई छ । तपाईं गोलाप्रथा द्वारा मन्त्रीमा छानिनु भएको छ । सपथ ग्रहणको लागि तु. अाउनु पर्यो भन्दै फोन अाथ्यो । त्यै भएर जान खोज्या नि ।”
सधैं हिडीरहेने बाटो भएर होला हिड्दा त्यति मतलब नै नगरी मन्त्री भइसके पछिका कुराहरु कल्पिदै हिडिरहेको थिएँ, हिड्दाहिड्दै बिच सडकमा फ्यात्त खाल्डोमा खसें । झसंग निन्द्रा बिउंझ्यो । मुसुक्क मुस्कुराउँदै फेरी भुसुक्क सुतेँ ।