"आज
बेलुकी ८ बजे मेरो ल्यान्डिङ छ, लिन आऊ है । मैले घरमा र अन्य साथीहरुलाई कसैलाई पनि भनेको
छैन । पहिला तँलाई नै भनेको हो ।" मेसीको म्यासेन्जरमा टुंग घन्टी बजाउदै
नेमारको सन्देश आयो । मेसीले उत्साहित हुदै – “हुन्छ” भने । सानोमा धेरै मिल्ने
साथीले धेरै बर्षपछी त्यसरी एक्कासी आउछु भन्ने कुरा गर्दा अवश्य नै मनमा एक
किसिमको तरंग उत्पन्न हुन्छ । ८ बजे ल्यान्डिङ भएपनि बाहिर आइपुग्न एक डेड घण्टा
लाग्छ । मेसीलाइ थाहा छ । तर पनि ऊ बेलुकीको ७:३० बजेबाट नै विमानस्थलको प्रतिक्षालयबाट प्रतिक्षा गरिरह्यो ।
१०
बजेतिर,
“हेई! मेसी, आइम हियर !" नेमारले मेसीलाई बोलायो । "हेई, नेमार..." भन्दै मेसी
नेमार तिर दगुर्दै हातले हात र काँधले काँध ठोक्दै, दुइ तिर तुना भएको झोला समाउदै
गाडी भएतिर हिडे ।
"यार, भित्र त चेकिंग धेरै कडा रहेछ त ? तर पनि क्युन्टलका क्युन्टल सुन कसरि छिराछन
हँ ? तेरो लागी एउटा राम्रो स्यामसुंग कम्पनीको आइफुन ल्याइदिएको थिएँ, मुला के
के/के के भनेर भित्रै राख्यो ।"
शोभराजले त्यतिकै भनेको होइन नि – “म नेपालको बिमानस्थलबाट हात्ती पनि छिराउन
सक्छु । हात्ती छिर्ने ठाउँमा हाम्रो फोनको के किम्मत हुन्थ्यो र ? छोड्दे । यहाँ
यस्तैछ हेर । अनि भन त यार तँ त जस्ताको त्यस्तै छस् त ?” मेसीले गाडी स्टार्ट
गर्दै भन्यो ।
“अँ, बाहिर तिर त स्वास्थ्यमा एकदमै ख्याल गर्छन् नि । शारीरिक ब्यायाम पनि
निरन्तर गर्छु । अनि तँ भन त - तँ चैं यसरि कसरि मोटाइस् ? भुँडी पनि फ्यात्त
बाहिर आएको छ ? कति महिनाको हो हँ ?” प्याट्ट पेटमा हिर्काउदै लामो हाँसो हाँसे ।
मेसीले मुस्कुराउँदै गाडी अगाडी बढायो ।
“जे होस्, तैले पैसा भने टन्न कमाइछस् । गाडी पनि यत्रो महँगो चढ्याछस् ।
काठमाडौंमा घर पनि ठुलै बनाएको छस् रे !”
“हैन यार, के कमाउनु ? बरु तैले धेरै कमाएजस्तो छस् । भन त कति डलर सम्म कमाइयो ?”
“के कमाउनु यार ? खर्च पनि त डलर मै हुन्छ । तर पनि अलिअलि कमाएकै छु । अब केहि
यतै गर्ने भन्ने सोचेको छु । के मा लगानी गर्दा राम्रो होला भन त ? मलाई त अस्पताल
खोलुँ कि जस्तो लाग्दैछ । कस्तो होला ?”
ढ्यांग... गाडी ठोक्किएको आवाज आयो ।
“हैन कत्रो ठूलो ब्रेकर बनाएको ?” नेमार सिटबाट उफ्रेर सिटमा नै थेचारियो । छातीमा
घुडाँ टाँस्दै एकदुई फन्का सिटको दायाँबाँया गर्यो ।
फेरी, ढ्यांग... ढ्यांग... । माथी ठोक्कियो । दुइतै हातले टाउको बेस्सरी समात्यो ।
मानौ टाउकोमा ठुलै चोट लागेको छ ।
“धन्न मैदान थिएन । नत्र त, तँ सालेले मज्जाले गुल्ट्याङ गुल्ट्याङ... लगाउंथिस् ।“
मेसीले नेमारलाइ जिस्काउँदै कुरालाइ निरन्तरता दियो – “यो ब्रेकर होइन खाल्डो हो ।
यहाँ यस्ता ब्रेकरहरु छलेर नै सडक बनाएको हुन्छ ।“
“अँ, तैले लगानीको कुरा गर्दैथिस, त्यो त राम्रो हो । तर अस्पतालमा लगानी
गर्नुभन्दा पहिला मार्सी चामलमा लगानी गर्नुपर्छ । अनि त्यसपछि सम्भावना हुनसक्छ ।
नत्र त भन्न सकिदैन हेर ।“
“किन र ? खोल्न त पाउनु पर्ने हो नि । कि तिम्रा गुरु साम्पाओलीले अधिनायकवाद
ल्याइसक्यो ?”
“होइन नि, साम्पाओली भन्दापनि एउटा पागल डाक्टर छ । त्यो डाक्टरले अधिनायकबाद ल्याउदैछ
। साम्पाओली त मार्सी चामल सँग कन्भिन्स भैहाल्थ्यो ।“
“अनि के मा लगानी गर्ने त यार ? रेस्टुरेन्ट खोलुँ भने घर घरमा खोलिसके । अन्य के
को सम्भावना होला भन त ?”
“अब तैले लगानी गर्ने भनेको खाली जमिनलाइ कम्तिमा पनि ५ बर्षलाइ भाडामा लिने हो ।
त्यसमा राम्रो फाइदा हुने सम्भावना देख्दैछु हेर ।“
“खाली जमिन लिएर के गर्ने ? गुल्ट्याङ गुल्ट्याङ लगाउने ?”
“हैन, गुल्ट्याङ गुल्ट्याङ लगाउन सिकाउने हो ।“ मेसीले जिस्काउँदै भने ।
नेमारले लजाउँदै गाडीको सिसा बाहिर टाउको निकाल्यो । नाक थुन्दै, टाउको यथास्थानमा
ल्यायो । सिसा माथि तान्यो । र लामो सास फेर्दै भन्यो – “मुला, के को गन्ध हो ?”
“बागमती पूल माथी छौ साथी, यसलाई गन्ध होइन सेन्ट सम्झी । बुझिस् ?”
“जुन कुरामा पनि कमेडी घुसाईहाल्ने तिम्रो बानी बडो बिचित्रको छ । हुन त मुला, तँ
गुरुको चेला त हस् ।“
मेसीले मुस्कुराउँदै मौन समर्थन गरे । र भने – “लौ घर आइपुग्यो ।“
गाडीबाट झर्दै नेमारले गाडीमा भइरहेको कुरालाई निरन्तता दियो – “अँ भन त, खाली
जमिनले के गर्ने भनेको ?”
“के गर्नु नि ? बाहिर एउटा बोर्ड राखिदिने – “यहाँ श-शुल्क आन्दोलन गर्नका लागी ठाउँ
खाली छ ।” मनग्गे कमाइ हुन्छ ।
हाहा J लामो हाँसो हाँस्दै, “अनि अनि... ?” भन्दै
नेमार मेसीको पछिपछि घर भित्र छिरे ।